अफगानिस्तानको हेलमाण्ड प्रान्तका जिल्ला प्रमुखको बम आक्रमण गरी हत्या
एजेन्सी, १९ असोज । अफगानिस्तानको हेल्माण्ड प्रान्तका एकजना जिल्ला प्रमुखको बम हमला गरेर हत्या गरिएको समाचारमा जनाइएको छ।
आइतबार भएको सो बम हमलामा परी अफगानिस्तानको हेल्माण्ड प्रान्तका जिल्ला प्रमुख नाकिबुल्लाह रोशनको ज्यान गएको सो प्रान्तका प्रान्तीय गभर्नर ओमार जवाकले जानकारी गराएका छन्।
उनले तालिबानीहरुले गरेका बम आक्रमणमा परी रोशनको ज्यान गएको र उनी उक्त प्रान्तको लस्कर ए गाह जिल्लाका एक लोकप्रिय नेता पनि रहेको जानकारी गराइएका छन्।
स्थानीय सञ्चारमाध्यमहरुका अनुसार प्रान्तीय गभर्नर जवाकले उक्त जिल्लामा रहेका अर्का कानुनी अधिकारी पनि नराम्ररी घाइते भएको जानकारी गराएका छन्।
पछिल्ला केही दिनहरुमा उक्त क्षेत्रमा तालिबानीहरुले बम हमलाका घटनाहरु गराइरहेका छन्।
अफगान सरकार र तालिबानीहरुकाबीचमा कतारको दोहामा हालै वार्ता शुरु भएको बताइएको थियो । तर यता अफगानिस्तानमा भने तालिबानीहरुले भने हिंसात्मक हमलाहरु जारी नै राखेका छन्।