कोरोना भाइरसबाट पछिल्लो २४ घन्टामा थप १९ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ५५४ पुग्यो
काठमाण्डौ, १९ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ५ जना महिला र १४ जना पुरुष संक्रमितको मृत्यु भएको हो।
काठमाण्डौमा ७६, ८१ र ८३ वर्षीया महिला, पर्सामा ६५ वर्षीया महिला र गोरखामा ४५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो।
त्यस्तै, काठमाण्डौमा २६, ६५, ६७, ७८, ८१ र ९१ बर्षीय पुरुष, सुनसरीमा ५५ वर्षीय पुरुष, सर्लाहीमा ४२ र ६९ वर्षीय पुरुष, ललितपुरमा ३, ५५ र ७१ वर्षीय पुरुष, चितवनमा ६२ वर्षीय पुरुष, र नवलपरासी पूर्वमा ३६ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा.गौतमले जानकारी दिएका छन्।
योसंगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५५४ पुगेको छ भने नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर ०.६२ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।