बलात्कार आरोपमा थुनामा परेकालाई रिहा गराइदिने भन्दै रकम असुली गर्ने नक्कली डीएसपी पक्राउ
जनकपुरधाम, २० असोज । पक्राउ परेका बलात्कारीलाई रिहा गराइदिने भन्दै रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
बलात्कार आरोपमा पक्राउ परी पूर्पक्षका लागि सिराहा कारागारको थुनामा रहेका सिराहाकै बरियारपट्टी गाउँपालिका ४ का २३ वर्षीय शिवकुमार साहलाई रिहा गराइदिने नाममा शिवका भाई मुकेशसँग ३५ हजार रुपैँया ठगी गर्ने अर्नामा गाउँपालिकाका मोहम्द जाबीरलाई प्रहरीले पक्राउ गरेको छ।
सिराहा प्रहरीका अनुसार ३० बर्षीय जाबिरले आफू नेपाल प्रहरीको डीएसपी हुँ र मुद्दा फाँटमा काम गरिरहेकोले बलात्कार आरोपीलाई छुटाइदिने आश्वासन दिएर रकम लिएको पाइएको छ।
बलात्कार आरोपीलाई छुटाइदिने भन्दै झुठो प्रलोभन देखाएर पीडक परिवारसँग ३५ हजार रुपैयाँ लिएको पाइएपछि जाबिरलाई गत असोज १८ गते नियन्त्रणमा लिइएको हो भने उनलाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा लिई ठगी शिर्षकमा मुद्दा चलाइएको छ र उनीबारे थप अनुसन्धान भइरहेको सिरहा प्रहरीले जानकारी दिएको छ।
सिराहाका बिष्णुपुर गाउँपालिका वडा नम्बर १ मा गत असोज १६ गते मात्रै एकजना बलात्कारी आरोपीलाई ५/५ लाखको २ वटा तमसुक बनाएर उन्मुक्ति दिने गरी पञ्चायतीमा निर्णय गरिएको थियो । यो जानकारी पाएपछि प्रहरीले बलात्कार आरोपी र अन्य ८ जना पञ्चलाई नियन्त्रणमा लिइसकेको छ।