काठमाण्डौमा महिलालाई बन्धक बनाएर हत्या गर्ने युवक हेटौंडाबाट पक्राउ
काठमाण्डौ, २० असोज । महिलालाई बन्धक बनाएर हत्या गरी फरार भएका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय अपराध महाशाखा, काठमाण्डौको टोलीले हेटौंडा उपमहानगरपालिका १४ नयाँ बस्तीबाट सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका ११ बडेगाउँका ३५ वर्षीय विनय श्रेष्ठ भन्ने विनय माझीलाई सोमबार नियन्त्रणमा लिएको हो।
महाशाखाका अनुसार माझीले ०७६ साल जेठ ५ गते काठमाण्डौ कागेश्वरी मनहरा नगरपालिका ९ गोठाटारस्थित एक टहरोमा सिन्धुपाल्चोक घर भई जोरपाटी बस्ने ३६ वर्षीय पम्फा श्रेष्ठको हत्या गरेका थिए भने त्यसयता उनी फरार भएका थिए।
अनुसन्धानको क्रममा विनयले मृतक पम्फालाई आफ्नै कोठामा लिएर वैशाख ३० गतेदेखि बन्धक बनाएर हत्या गरेका थिए । पछि स्थानीयले खबर गरेपछि जेठ ५ गते सोही कोठाको खाटमा महिलाको शव भेटिएको थियो भने कोठाको बाहिरबाट ताला लगाइएको अनुसन्धानका क्रममा पत्ता लागेको प्रहरीले जनाएको छ।