आईपीएलमा सट्टाबाजी गर्ने एकजना पक्राउ
कैलाली, २० असोज । दुबईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा सट्टाबाजी गरेको आरोपमा कैलालीमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
धनगढी उपमहानगरपालिका ३, चटकपुरस्थित प्रितम ट्रेडिङ एन्ड सप्लायर्सका सञ्चालक ३७ वर्षीय सञ्जीव गुप्तालाई प्रहरीले पक्राउ गरेको हो।
आईपीएलमा कुनै खेलाडी आउट भए, रन बनाए, चौका छक्का भए, विकेट गए टिमले जिते वा हारेमा समेत अनलाइनमार्फत रकम दाउमा लगाई धनगढी बजारका विभिन्न व्यक्तिहरुलाई सट्टाबाजी खेल खेलाउने गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले सट्टाबाजीमा प्रयोग भएको दुईथान मोबाइलसहित उनलाई नियन्त्रणमा लिएको हो।
उनलाई जिल्ला अदालत कैलालीबाट जुवा मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।