नाबालकलाई विष खुवाएर फरार महिला तीन वर्षपछि पक्राउ
कञ्चनपुर, २१ असोज । विष खुवाएर ज्यान मार्ने उद्योग कसुर गरी फरार रहेकी बेलडाँडी गाउँपालिका–१ की २६ वर्षीया समिरा चन्दलाई मङ्गलबार तीन बर्षपछि प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले तीन वर्षअघि नाबालकलाई विष खुवाई ज्यान मार्ने उद्योग गरी फरार रहेकी चन्दलाई घरमै लुकीछिपि बसेको बेला पक्राउ गरेको हो।
प्रहरीका अनुसार ज्यान मार्ने उद्योग कसुरमा चन्दलाई उच्च अदालत दिपायल महेन्द्रनगर इजलासले विसं २०७४ भदौ २० गतेको फैसलाअनुसार पाँच वर्ष कैद सजाय तोेकेको थियो भने अदालतले कैद तोकेपछि चन्द फरार रहेकी थिइन्।
पक्राउ परेकी चन्दलाई अदालतमा पेश गरी कैद भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ।