भक्तपुरमा जग्गा खोज्न आउने व्यक्तिद्वारा जग्गा देखाउनेमाथि कुटपिट, अस्पतालमा उपचारका क्रममा मृत्यु
काठमाण्डौ, २२ असोज । भक्तपुरमा जग्गा खोज्दै गएका दुईजनाले कुट्दा एक स्थानीय व्यापारीको मृत्यु भएको छ।
कुटपिटबाट चाँगुनारायण–८ सुडाल बस्ने ६१ वर्षीय चन्द्र लामा वाईवाको मृत्यु भएको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ।
प्रहरीका अनुसार सुडालस्थित आफ्नै घरमा चन्द्रको मदिरा सहितको किराना पसल छ भने बुधवार मध्यान्ह पसलमा आएका दुईजनाले वियर खाएपछि जग्गा हेर्ने कुरा गरेको र चन्द्र जग्गाको काम पनि गर्ने भएकाले पसलमा आएका ग्राहकले ‘जग्गा हेरौं’ भनेपछि उनी जग्गा देखाउन हिँडेका थिए।
घरबाट करिब ५ सय मिटर माथि ईट्टभाट्टामा पुगेपछि जग्गा खोज्नेले अचानक उनलाई नै आक्रमण गरी निर्घात कुटेर बेहोस बनाएपछि चन्द्रले हातमा लगाएको दुइतोला सुनको ब्रासलेट र दुईवटा मोवाइल लिएर उनीहरु भागेको प्रहरीले बताएको छ।
उपचारको क्रममा ग्रिनसिटी अस्पतालमा बिहीबार बिहान चन्द्रको मृत्यु भएको हो भने हत्यामा संलग्नको खोजी भइरहेको महाशाखाले जनाएको छ।