बंगलादेशको रोहिंग्या शरणार्थी शिविरमा दुई समूहबीच हिंस्रक झडप हुदाँ ८ जनाको मृत्यु
एजेन्सी, २३ असोज । म्यान्मारबाट भागेर बंगलादेशका रोहिंग्या शिविरमा बसिरहेका शरणार्थीहरु हतियार लिएर एकआपसमा भिडेपछि ८ जनाको मृत्यु भएको छ।
सो घटनामा गोली चलेको थियो र आगजनी समेत गरिएको थियो । जसको कारणले गर्दा आपराधिक समूहहरूको लडाइँका कारण हजारौं मानिस भाग्न बाध्य भएका छन्।
प्रभुत्वका लागि गरिएको लडाइँमा दुई गुट भिडेका थिए भने सो घटनामा संलग्न १२ जनालाई प्रहरीले पक्राउ गरेको छ।
समाचार संस्था रोयटर्सका अनुसार कक्स बजार नजिक संसारको सबभन्दा ठूलो शरणार्थी शिविरमा तनावको स्थिति रहेको अतिरिक्त प्रहरी अधीक्षक रफीकुल इस्लामले बताएका छन् । मानव तस्करी र लागूऔषध ओसारपसारमा संलग्न समूहहरूले झगडा गरेको हुन सक्ने बताइएको छ।
उक्त क्षेत्र लागूऔषध तस्करीका लागि बदनाम छ ।
नाम नखुलाउने शर्तमा तीन शरणार्थीहरूले यस गोलीकाण्डमा दुईवटा कुख्यात स्थानीय गुट संलग्न रहेको बताएका छन् भने एक गुटको नाम मुन्ना र अर्को गुट अराकान रोहिंग्या साल्भेसन आर्मी रहेको छ।
शरणार्थी राहत तथा प्रत्यावर्तन आयुक्त मोहम्मद शम्सु डौजाका अनुसार हिंसाका कारण लगभग २ हजार रोहिंग्या परिवार भाग्न बाध्य भएको र बिहीवारसम्म केही मानिस फर्केको छ।