कोरोना भाइरसबाट पछिल्लो २४ घन्टामा थप १० जनाको मृत्यु, मृत्यु हुनेको संख्या ६०० पुग्यो
काठमाण्डौ, २३ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा १ जना महिला र ९ जना पुरुष संक्रमितको मृत्यु भएको हो।
काठमाण्डौमा ८७ बर्षीया महिला, झापामा २९ र ५२ बर्षीय पुरुष, सुनसरीमा ४६, ५३ र ६८ बर्षीय पुरुष, काठमाण्डौमा ७१ बर्षीय पुरुष, ललितपुरमा ८४ बर्षीय पुरुष, रुपन्देहीमा ४७ र ८४ बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा.गौतमले जानकारी दिएका छन्।
योसंगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६०० पुगेको छ भने नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर ०.६० प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।