विदेशमा थप १७ नेपालीको कोरोना संक्रमणबाट मृत्यु
लन्डन, २५ असाेज । विदेशमा थप १७ जना नेपालीको कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार शनिबार साँझसम्म यूएईमा १ जना र साउदी अरबमा १६ जना थप नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
एनआरएनएको स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार विदेशमा विगत ९ महिनामा नेपालबाहेक १८ देशका २ सय ८१ जना नेपालीको कोरोना संक्रमणका कारण ज्यान गएको हो ।
संघका अनुसार यो साता बेल्जियम, स्पेन, नेदरल्याण्ड, भारत, ओमान, कतार र साउदी अरबमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको हो ।
गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिवार साँझसम्म ४२ देशका ४० हजार ७ सय ३५ नेपाली कोरोना संक्रमित भएका छन् । तीमध्ये ३६ हजार ६ सय ७३ जना नेपालीहरु कोरोना भाइरसबाट मुक्त भएका छन् ।
संक्रमित नेपालीमध्ये ८९ प्रतिशत कोरोनामुक्त भएको गैरआवासीय नेपाली संघले जनाएको छ ।