चितवनमा कोरोना संक्रमित वडाध्यक्षको मृत्यु
२५ असाेज, चितवन । भरतपुर महानगरपालिका–२० का वडाध्यक्ष मणिलाल तामाङको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचारको क्रममा बिहान ११ः३० बजे उनकाे मृत्यु भएको अस्पतालका कोभिड–१९ क्लिनिकका संयोजक डा प्रमोद पौडेलले जानकारी दिए ।
६९ वर्षीय तामाङलाई उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि यही असोज २३ गते अस्पताल भर्ना गरिएको थियो ।
असोज १४ गते पिसीआर परीक्षण गरिएकोमा दुई दिनपछि कोरोना पुष्टि भएको थियो ।
उनीलाई मधुमेह, उच्च रक्तचापको समस्या रहेको संयोजक डा पौडेलले बताए ।
अस्पताल भर्ना गर्दा अक्सिजनको मात्रा ४० मा झरेपछि उनीलाई सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो ।
अवस्था जटिल बन्दै गएपछि भ्यान्टिलेटरमा राखेर उपचारका क्रममा उनीको मृत्यु भएको हो ।
उनी गत स्थानीय निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट सो पदमा निर्वाचित भएका थिए ।