शरीरमा लुकाएर ब्राउनसुगर तस्करी, एक पुरुष प्रहरीको फन्दामा
२७ असोज, धरान । सुनसरीको धरानमा एक जनालाई प्रहरीले ब्राउनसुगरसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान–१५ विशालचोकका ३८ वर्षीय विजयकुमार रोक्का रहेका छन् ।
सोमबार राति को १० प ६२५९ नम्बरको मोटरसाइकलमा आइरहेका रोक्कालाई विषेश सुराकका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान साम्पाङ चोकबाट नियन्त्रणमा लिएको हो ।
हिजो राति ८ बजे पक्राउ परेका उनीमाथि चेकजाँच गर्दा शरीरमा लुकाई छिपाई राखिएको १२ ग्राम ५०० मिलिग्राम लागूऔषध ब्राउनसुगर र नगद १० हजार ९ सय ६० रुपैयाँसमेत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
पक्राउ परेका रोक्का उपर इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको छ