विश्वकप छनौट : अर्जेन्टिना, ब्राजिल र उरुग्वे प्रतिस्पर्धामा
२७ असोज, काठमाडौं । फिफा विश्वकपको छनौटअन्तर्गत अर्जेन्टिनाले बोलिभियासँग प्रतिस्पर्धा गर्दैछ । विश्वकपको दक्षिण अमेरिकी छनौटअन्तर्गत हुने यो खेल बोलिभियाको मैदानमा हुनेछ ।
नेपाली समय अनुसार आज राति १ः४५ बजेबाट हुने यस खेलमा अर्जेन्टिना दोस्रो जितको खोजीमा छ भने बोलिभिया पहिलो जितको खोजीमा छ ।
यसअघि अर्जेन्टिनाले उसले इक्वाडरमाथि १–० गोलको जित निकाल्दै ३ अंक जोडेको थियो । यता, बोलिभिया भने पहिलो खेलमा ब्राजिलसँग ५–० गोलले पराजित भएको थियो ।
यस्तै बिहान २ः४५ बजे हुने अर्को खेलमा इक्वाडर र उरुग्वेले खेल्दैछन् । इक्वाडरको मैदानमा हुने यस खेलमा उरुग्वे दोस्रो तथा इक्वाडर पहिलो जितको खोजीमा हुनेछ ।
बिहान ३ः४५ बजे भेनेज्वेला र पाराग्वेले खेल्नेछन् भने बिहान ५ः४५ बजे ब्राजिलले पेरुसँग खेल्नेछ । यस्तै बिहान ६ः१५ बजे चिली र कोलम्बिया आमने–सामने हुनेछन् ।