अर्थमन्त्रीको पदबहालीको सुरुवात विश्व बैंकबाट २० करोड डलर ऋण लिने निर्णयमा हस्ताक्षर गर्दै
काठमाण्डौ, २९ असोज । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले बिहीबार अर्थ मन्त्रालयमा पदबहाली गरेलगत्तै पहिलो निर्णयमा हस्ताक्षर गरेका छन्।
पौडेलले मन्त्रालयको पदबहाली कोरोना भाइरस (कोभिड १९) संक्रमण नियन्त्रण तथा रोकथामका लागि विश्व बैंकबाट २० करोड डलर सहुलियत ऋण लिने निर्णयमा हस्ताक्षर गर्दै सुरु गरेका छन्।
शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले शपथग्रहण गराएलगत्तै अर्थ मन्त्रालय पुगेर पौडेलले पदबहाली गरेका हुन्।
पदबहालीका क्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, महालेखा नियन्त्रक मधुकुमार मरासिनी, राजस्व बोर्डका अध्यक्ष महेश दाहाल, भन्सार विभागका महानिर्देशक सुमन दाहाललगायत उपस्थित थिए।
त्यस्तै, नवनियुक्त अर्थमन्त्रीलाई बधाइ दिन नेकपाका सांसदहरू पनि मन्त्रालय पुगेका छन्।
पौडेल प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट बुधबार अर्थमन्त्रीमा नियुक्त भएका हुन्।