वीरगन्जको रेशमकोठीस्थित श्री गणेश अपार्टमेन्टबाट २३ किलो सुन बरामद
वीरगन्ज, १ कार्तिक । पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर ५ बाट करिब २३ किलो सुन र २ किलोभन्दा बढी चाँदी बरामद भएको छ।
वीरगन्ज महानगरपालिका वडा नम्बर ५ रेशमकोठीस्थित श्री गणेश अपार्टमेन्टको ३०३ नम्बरको फ्ल्याटबाट २२ किलो ५ सय ७६ ग्रामबराबरको सुनका तीनवटा बिस्कुट फेला परेको थियो।
त्यस्तै ६ सय ८१ ग्राम बराबरको सुनका विभिन्न गरगहना र २ किलो २ सय ६२ ग्राम बराबरको चाँदीका विभिन्न भाँडावर्तन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।
प्रहरीका अनुसार त्यो फ्ल्याट बिहारको पूर्वी चम्पारन हरैया निवासी अशोक सिन्हाको भएको उक्त अपार्टमेन्टका सुरक्षा गार्डबाट प्रारम्भिक जानकारी प्राप्त भएको छ।
उक्त सुन कसको हो र कहाँ लगिँदै थियो भन्नेबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ।