जनप्रतिनिधिले दसैंभत्ता नलिने व्यवस्था गर्न भीम रावलको माग
२ कात्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले कुनै पनि जनप्रतिनिधिहरूले दशैंभत्ता नलिने व्यवस्था गर्न माग गरेका छन् ।
आइतबार सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै रावलले कोरोना महामारीमा पनि सांसदहरुले दशैं भत्ता बुझेको खबर सार्वजनिक भएपछि यस्तो माग गरेका हुन् ।
रावलले कुनै पनि जनप्रतिनिधिलाई दसैं भत्ता नलिने व्यवस्था गर्न माग गर्दै आफ्नो खातामा आएको दशैंभत्ता पनि फिर्ता लिन माग गरेका छन् ।
उनले लेखेका छन्, ‘खातामा भत्ताको रकम राखिएको थाहा पाइयो । हालको विषम स्वास्थ्य चुनौती र आर्थिक कठिनाइलाई मनन गरी कुनैपनि जनप्रतिनिधिले दसैं भत्ता नलिने व्यवस्था गरियोस् ।’
‘सांसदहरूले उक्त भत्ता लिनुहुन्न भन्नेमा मेरो समर्थन छ । मेरो खाताबाट रकम कट्टी गर्न मञ्जुरी छ । दसैं भत्ताको रकम नलिन कुनै कानून संशोधन गर्न वा नयाँ कानून बनाउनु पर्दैन’, उनले लेखेका छन् ।