अस्पताल भर्ना भएका संक्रमितलाई ३ दिनसम्म लक्षण नदेखिए १० दिनमै डिस्चार्ज गरिने : स्वास्थ्य मन्त्रालय
काठमाण्डौ, २ कार्तिक । अब अस्पतालमा भर्ना भएका कोरोना संक्रमितलाई तीन दिनसम्म लक्षण नदेखिएमा १० दिनमै डिस्चार्ज गरिने भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबारको प्रेस ब्रिफिङमार्फत अस्पतालमा भर्ना भई तीन दिनसम्म लक्षण वा चिन्ह नदेखिएमा १० दिनमै डिस्चार्ज गरिने जानकारी दिएका छन्।
यसअघि तीन दिन सम्म लक्षण नदेखिएमा १४ दिनपछि मात्रै डिस्चार्ज गरिन्थ्यो।
डा. गौतमका अनुसार संक्रमितहरूको डिस्चार्ज सम्बन्धमा भएको हालको व्यवस्था अनुसार १४ दिनमा लक्षण नभएका तथा लक्षण हराएको तीन दिन भएका व्यक्तिहरूलाई डिस्चार्ज गर्ने भनिएकोमा अब उप्रान्त पछिल्लो तीन दिन चिन्ह र लक्षण नभएमा १० दिनमा डिस्चार्ज गरिने भएको छ।
त्यसरी डिस्चार्ज भएका व्यक्ति कम्तिमा पनि ७ दिन होम आइसोलेशनमा अनिवार्य बस्नुपर्ने सुनिश्चितता गर्नुपर्ने उनले बताएका छन्।