एकै दिन विराटनगरमा ७ जनाको कोरोनाबाट मृत्यु
४ कात्तिक, विराटनगर । विराटनगरमा कोरोना भाइरस संक्रमणका कारण एकै दिन ७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विभिन्न कोभिड अस्पतालमा उपचारको क्रममा पाँच महिला र दुई पुरुषको मृत्यु भएको हो ।
विराटनगरमा एकै दिन मृत्यु भएको संक्रमितको संख्या अहिलेसम्मकै उच्च हो । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा ३ जना, विराट नर्सिङ होम, न्यूरो, विराट र नोबेल शिक्षण अस्पतालमा एक–एक जना रहेका छन् ।
मृत्यु हुनेमा मोरङ कटहरी गाउँपालिका–२ आदर्श टोलकी २१ वर्षीया युवती, विराटनगर महानगरपालिका–१२ की ६४ वर्षीया वृद्धा, इटहरी उपमहानगरपालिका–५ का ३८ वर्षीय पुरुष, रंगेली नगरपालिका–३ का ८५ वर्षीय वृद्ध पुरुष, विराटनगर महानगरपालिका–१० की ६४ वर्षीया वृद्धा, विराटनगर महानगरपालिका–७ की ६९ वर्षीया वृद्धा र झापाको बिर्तामोड नगरपालिका–४ की महिला रहेका छन् ।
यस्तै विराटनगरको कोशी अस्पतालमा मृत्यु भएका मोरङको रतुवामाई नगरपालिका–४ का ४० वर्षीय पुरुषको भने पीसीआर परीक्षण रिपोर्ट आउन बाँकी छ ।