ललितपुरमा मेयर फोरमको निर्णयपछि विद्यालय खोलिने
ललितपुर, १६ मंसिर । ललितपुर महानगरपालिकाले काठमाडौँ भ्याली मेयर फोरमको निर्णयपछि अनुकूल समयमा मात्र विद्यालय खोल्ने जनाएको छ ।
विश्वव्यापीरूपमा फैलिरहेको कोरोना महामारीका कारण महानगरपालिकाले काठमाडौँ उपत्यकामा कोभिड सङ्क्रमणदर बढ्दै गएका कारण अन्य महानगरपालिका र नगरपालिकाका प्रमुखसँगको सल्लाह र सुझावपछि मात्र विद्यालय खोल्न उपयुक्त हुने जनाएको हो ।
जाडो समयमा कोभिड भाइरस बढी समय बाँच्छ भन्ने भनाइ रहँदा यसको असर विद्यार्थीमा नपरोस् भनी सो बैठकको छलफलपछि कसरी र कहिले विद्यालय खोल्न उपयुक्त हुन्छ, त्यसै गरिने महानगर प्रमुख चिरीबाबु महर्जनले बताए ।
उनले भने, “काठमाडौँ उपत्यकाका नगरप्रमुखसँग छलफल गरेर विद्यालय खोल्दा सबैमा एकरूपता पनि आउनेछ ।”
अभिभावक र सम्बन्धित विज्ञको सकारात्मक सुझावपछि सही समयमा विद्यालय खोलिने भएको महानगरपालिकाका शिक्षा शाखा उपसचिव महेन्द्रबहादुर क्षेत्रीको भनाइ छ ।
महालक्ष्मी नगरपालिकामा कोरोना जोखिम अझै रहँदा तत्काल विद्यालय खोल्ने अवस्था नरहेको शिक्षा शाखा प्रमुख सुनिता योङहाङले बताइन् ।