पार्कमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते
बर्दिवास । महोत्तरीको गौशालामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । माईस्थान–गौशाला सडक खण्डको सुर्तिविकास चोक नजिकै पार्कमा बुधवार राति मोटरसाइकल ठोक्किएकाे थियो ।
सो दुर्घटनाबाट गौशाला नगरपालिका-८ का अन्दाजी १९ वर्षीय अमर पाँचेको मृत्यु भएको गौशाला नगरपालिका वडा नं. ८ का वडाध्यक्ष भोजराज दर्लामीले बताए ।
उनका अनुसार सोही स्थानका अन्दाजी १७ वर्षीय युवराज बलम्पानी गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा मृतक पाँचेको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीले बताए ।
दुर्घटनामा गम्भीर घाइते बल्मपाकीको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरी थप उपचारका लागि जनकपुर पठाइएको उनले बताए ।
गौशाला नगरपालिका–४ रजखोरमा आफन्तलाई पुर्याई फर्किनेक्रममा पार्कमा ठोक्किएर मोटरसाइकल दुर्घटना भएको वडा अध्यक्ष दर्लामीले बताए ।
सडकमा पार्क निर्माण भएसँगै पार्कमा सवारीसाधन ठोक्किएर दुर्घटना हुँदै आएको स्थानीयहरुको गुनासो छ ।