कोरोना कहरबीच रोकिएको कोरिया जाने प्रक्रिया छिट्टै सुरु हुँदै
काठमाण्डौ । कोरिया जानेहरुको रोकिएको प्रक्रिया छिट्टै सुरु हुने भएको छ ।
कोभिड १९ कोरोना माहामारीका कारण कोरिया लैजान रोकिएको प्रक्रिया छिट्टै सुरु गर्ने तयारी भएको जानकारी त्यहाँको श्रम मन्त्रालयले गराएको छ ।प्रवासी श्रमिक युनियन एमटीयू र केसीटीयूले कोरियाको रोजगार तथा श्रम मन्त्रालय प्रवासी श्रमिक विभागका निर्देशक लगायतसँग कोरियामा ईपीएसअन्तर्गत प्रवासी श्रमिकका बारेमा छलफल तथा रोकिएका सम्पूर्ण प्रक्रिया सञ्चालन गरी कोरोना महामारीको कारणले प्रवेशमा रोक लगाएको श्रमिकको प्रवेश गराउने बारेमा छलफल गरेका हुन् ।
कोरियाली भाषा पास गरेर कोरिया जाने पर्खाइमा बस्नेको दुई वर्षे रोस्टरको समयावधि सकिन लागेका बेला ६ महिना थप्ने निर्णय पनि भएको प्रवासी श्रमिक युनियन एमटीयूका अध्यक्ष उदय राईले बताउनुभयो ।
सन् २०२० को ५६ हजार कोटामध्ये ३३ हजार १०० अनुमतिपत्र जारी गरिएको थियो भने अक्टोबरसम्ममा ६ हजार ७४ जना मात्र नयाँ प्रवासी मजदुर कोरिया प्रवेश गरेका छन् ।