कोरोना संक्रमण फैलिएपछि इलाम नगर मंसिर २४ सम्मलाई बन्द
इलाम। कोभिड–१९ को संक्रमण बढेपछि इलाम नगरपालिकामा हाटबजार, विद्यालय, पसल र सवारी साधन आगामी २४ गते सम्मका लागि बन्द गरिएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको शुक्रबार बिहान बसेको बैठकले नगर क्षेत्रमा पर्ने हाटबजार, स्थानीय रुटमा चल्ने सवारी साधनलगायत आउँदो २४ गतेसम्मलाई बन्द गर्ने निर्णय गरेको हो ।
तर नगरका सरकारी कार्यालय, बैंक तथा वित्तीय सेवा चाहिँ आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य रूपमा पालना गरी न्यूनतम् कर्मचारीको माध्यमबाट सञ्चालन गर्ने निर्णय गरिएको छ । यो अवधिमा इलाम नगरभित्र पर्ने मेची राजमार्गमा चाहिँ लामो दूरीका सवारी साधन भने चल्न पाउनेछन् ।
इलाम नगरपालिकामा बिहीबारसम्म कोभिड–१९ पोजिटिभको संख्या १ सय १७ छ । मंसिर १४ गते एकैदिन १८ र मंसिर १७ गते १५ जनामा कोभिड–१९ पोजिटिभ देखिएको थियो । ६८ जनाको भने पिसिआर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
इलाम जिल्लामा अहिलेसम्म कोभिड–१९ पोजिटिभको संख्या २ सय ४९ रहेकामा १ सय ७६ जना निको भएका छन् ।