चौध वर्षमुनिका बालबालिकाले कोभिड-१९ को खोप नपाउने
काठमाण्डौ । कोभिड १९ को खोप तत्काललाई १४ बर्ष मुनीका बालबालिकाले नपाउने भएका छन् ।
विश्वभरका विभिन्न कम्पनीले कोभिड १९ विरुद्ध खोप परीक्षण गरिरहेको र सफल भएको बताए पनि १४ मुनिका बालबालिकाले भने यो खोप लगाउन नपाउने भएका हुन् ।
हालसम्म १४ वर्षमुनिका बालबालिकामा क्लिनिकल ट्रायल (प्रयोग अनुसन्धान) नभएकाले पहिलो चरणमा यो समुहले खोप लगाउन पाउने स्थिति नरहेको स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ ।
यो समुहमा कोरोना भाइरस संक्रमणको असर कम देखिएको र मृत्यु पनि कम भएकोले पहिलो चरणमा उनीहरुमाथि प्रयोग नभएको हुनसक्ने शाखाले जनाएको छ ।
बालबालिकामा कोरोना भाइरसको असर पाका उमेर समुहमा भन्दा कम छ ।
नेपालमा कुल जनसंख्याको २८ प्रतिशत १४ वर्षमुनिका बालबालिकाको संख्या छ । नेपालमा २८ दशमलव ९ प्रतिशत बालबालिका कोरोनाविरुद्धको खोपबाट बञ्चित हुनेछन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आगामी तीन महिनाभित्रमा मात्र नेपालमा खोप आइपुग्नेछ ।