सरकारविरुद्ध नेपाली काँग्रेसले देशभर प्रदर्शन गर्ने
काठमान्डौ। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारविरुद्ध देशभर प्रदर्शन गर्ने भएको छ ।
शुक्रबार बसेको नेपाली काँग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले मंसिर २९ गते देशभरका ७७ वटै जिल्लामा सरकारविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको हो ।
तनहुँमा आफ्नो पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुर्व्यवहार तथा गिरफ्तारी, कोरोना उपचार र भ्रष्टाचारको मुद्दालाई लिएर देशभर प्रदर्शन गर्ने निर्णय भएको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिनुभयो ।
बैठकले कोरोनाका कारण सिर्जित जटिल परिस्थितिमा बर्तमान २ तिहाइको सरकार आफ्नै आन्तरीक द्वन्द्वमा अलमलिएको भन्दै जनताका समस्याहरु उठान गर्ने थलो संघीय संसदको अधिवेशन छिटो बोलाउन समेत सरकारको ध्यानाकर्षण गराएको छ ।
तनहुँ घटनापछि पार्टीका नेता र कार्यकर्ताहरूले सरकारविरुद्ध सडक संघर्षको कार्यक्रम तत्काल घोषणा गर्न पार्टी नेतृत्वलाई दबाब दिँदै आएका थिए । घटनालाई लोकतन्त्र र गणतन्त्रमाथिको आक्रमणको संज्ञा दिएको काँग्रेसले बिहीबार तनहुँ, कास्की लगायतका जिल्लामा विरोधका कार्यक्रम समेत गरेको थियो ।