अध्यक्षद्वय ओली र प्रचण्डबीच एक्लाएक्लै वार्तापछि नेकपा सचिवालय बैठक सुरु
काठमाडौँ, २० मंसिर । नेकपा सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठक सुरु हुनुअघि अध्यक्षद्वयबीच बालुवाटारमा दिउँसो १२ बजेर २० मिनेटबाट एक्लाएक्लै छलफल भएको थियो ।
बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली पनि उपस्थित भएकाे उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । नेकपा सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीमाथि गम्भीर आरोप लगाउँदै पत्र दर्ता गरेपछि र प्रधानमन्त्रीले त्यसको प्रत्युत्तर दिएपछि उनीहरुबीच भेटवार्ता भएको थिएन ।
अध्यक्षद्वयबीच सहजीकरण गर्न दुबै पक्षका दोस्रो तहका नेताहरुको लामो प्रयासबीच आजको सचिवालय बैठक अघि उनीहरुबीच छलफल सम्भव भएको हो ।