सरकारले बनाएको कानून टेर्दैनन् ढुवानीकर्ता, निर्दयी तरिकाले पशु चौपाया ओसारपसार
अस्वस्थ र बिरामी राँगा भैसीहरु पनि मासुका लागि राजधानी भित्रन्छन्
धादिङ, २० मंसिर । राजधानीलगायत देशका विभिन्न बजारमा मासुका लागि लगिने पशु चौपायहरुको ढुवानी कसरी गर्ने भनी सरकारले कानुन बनाएको छ । पशु चौपाय ढुवानीका क्रममा पशुलाई यातना नदिई ढुवानी गर्नुपर्ने सरकारको कानून छ । सो कानून अटेर गरेमा कानुनअनुसार कारवाही हुन्छ । तरपनि पशु चौपाय ढुवानीकर्ता कानूनप्रति अटेर छन् ।
पृथ्वी राजमार्ग हुदै दैनिकजसो राजधानी प्रवेश गर्ने दर्जनौं ट्रकमा पशु चौपायहरुलाई यस्तै यातना दिँदै लगेको दृष्य देख्न सकिन्छ । कुनैपनि सुरक्षा जाँच चौकीहरुमा पशु चौपाय ढुवानी कसरी भईरहेको छ भन्ने बारेमा चेकजाँच पनी गरेको पाईदैन । यता, राजमार्ग प्रहरीचाहिँ यसको नियन्त्रणमा लागेको बताउँछन् ।
राँगा, भैसीको ढुवानी गर्दा पुच्छर फर्काएर बाँध्ने, एउटै ट्रकमा क्षमता भन्दा धेरै राँगा भैंसीलाई कोचेर राख्ने, थाकेर बस्न खोजे बस्न नदिने, साथै मुख र नाकमा डोरीले बाँध्ने जस्ता अमानवीय तरिकाबाट यातना दिंदै पशु चौपाय ढुवानी गरेको वर्षौं बितिसकेको छ ।
राँगा भैसीहरु थाकेर बस्न खोजेको खण्डमा पिट्दै उठाउने जस्ता निर्दयी ढङ्गबाट पशुचौपाय ढुवानी हुँदासमेत सरोकारवाला निकाय मौन बस्ने गरेका छन् । त्यसो त पशु क्वारेन्टाईन गरेको पत्र भएपनि अस्वस्थ र बिरामी राँगा भैसीहरु पनि मासुका लागि राजधानीलगायत देशका विभिन्न बजारहरुमा लैजाने गरेको पाईएको छ ।
राँगा भैसीलाई रगताम्य हुने गरी कुटपिट गर्नेलगायत धेरैजसोले त गाडीमा चढाएदेखि नओरालेसम्म खानेकुरा र पानी समेत नखुवाई लैजाने गरेका छन् । पशुमाथि यस्तो निर्दयी ब्यवहार हुँदासमेत पशु अधिकारकर्मी र सरोकारवाला सबै मौन देखिन्छन् ।