बुटवलको होटेलमा गोली चल्यो, गोली लागेर एकजना घाइते
बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ८ सुख्खानगरस्थित कलश होटलमा गोली चलेको छ । गोली लागेर एक जना घाइते भएका छन् ।
चिउँडोमा गोली लागेका उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्याइएको छ ।
गैंडाको खाग तस्करीमा संलग्न व्यक्तिहरु बसेको सूचनाका आधारमा उक्त होटेलमा छापा मार्न प्रहरी पुगेको प्रहरीको दावी छ । प्रहरी टोलीलाई नै होटेलमा रहेका व्यक्तिले पेस्तोल खोसेर प्रहार गर्न खोज्दा उनलाई नै गोली लागेर घाइते भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले बताए ।
उक्त होटेलमा बसेका ३ जना मध्ये एकजना भागेको र अन्य दुई जनालाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।