कोरोनाका कारण बन्द मायादेवी मन्दिर आजदेखि खुला
काठमाडौं । कोरोना महामारीका कारण चैत महिनादेखि बन्द रहेको भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा रहेको मायादेवी मन्दिर सर्वसाधारणका आजबाट खुलेको छ ।
स्वास्थ्य सुरक्षाको मापदण्ड पुर्णरुपमा अपनाई आजदेखि मायादेवी मन्दिर खुला गरिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा लुम्बिनी विकास कोषका अध्यक्ष योगेश भट्टराईले जानकारी दिनुभयो ।
मन्दिर प्रवेश गर्ने सबै सर्वसाधारणहरुलाई अनिवार्य मास्क प्रयोग गर्ने, सेनिटाइज हुनुपर्ने, विकास कोषले लागू गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रुपले अपनाउनु पर्ने, भिडभाड नगरी एक पटकमा ८–१० जना मात्र प्रवेश गर्ने व्यवस्था मिलाइएको लुम्बिनी विकास कोष परिषदले जनाएको छ ।
यसअघि सरकारले पर्यटकीय स्थलहरु खुला गर्ने निर्णय गरेपनि मायादेवी मन्दिर अन्तर्राष्ट्रिय पर्यटकीयस्थल र विश्वको ध्यान भएको केन्द्र रहेकोले खुल्न सकेको थिएन ।