मेरो बिहेको निर्णयले कोहीकोहीलाई चसक्स घोच्नेछ : श्वेता खड्का
काठमाडौं, २१ मंसिर । अभिनेत्री श्वेता खड्काले भोलि (२२ मंसिर सोमबार) विवाह गर्दैछिन् । उनले धनगढीका विजयेन्द्र सिंह रावतसँग लगनगाँठो कस्न लागेकी हुन् ।
दोस्रो पटक बिहे गर्न लागेकी उनले बिहेको पूर्वसन्ध्यामासामाजिक सञ्जाल फेसबुकमार्फत् दुःख बिसाएकी छन् । ‘म जीवनको दुःखद अध्याय बन्द गरेर खुसीको अध्याय सुरू गर्ने निर्णयमा पुगेकी छु,’ उनले बिहेको पूर्वसन्ध्यामा, आइतबार फेसबुकमा स्टाटस लेखेकी छन्, ‘त्यसो भन्दैमा मैले मेरो अतीतलाई चटक्कै भुल्छु भनेको भने पक्कै होइन । अतीतका मीठा पलहरूलाई मनको कुनामा पोको पारी भविष्य सजाउने नवीन यात्रा थालनी गर्ने यो निर्णय लिनु म एक्लैका लागि सहज र सम्भव छँदै थिएन ।’
यस्तो छ उनको स्टाटसः
मः जीवनको नवीन यात्रामा ।
जीवनका बिभिन्न आरोह–अवरोह, उकाली–ओराली, सुख–दुःख अनि हाँसो–रोदनका पलहरूलाई आत्मसाथ गर्दै आज जिन्दगीको अर्को एउटा मोडमा आइपुगेकी छु । जिन्दगीको यो मोडसम्म आइपुग्दा मैले जे जस्ता पीर, व्यथा, दुःख अनि कष्टहरूसँग सामना गरेकी छु, त्यसभित्रको कहालीलाग्दो अनुभवहरूलाई शब्दमा बयान गर्न पनि असमर्थ छु । ‘अचानोको पीडा खुकुरीलाई थाहा हुन्न’ भनेझैं समयको दूष्चक्रले ममाथि प्रहार गरेको अनेकन प्रहार र त्यसबाट मैले भोगेको पींडाहरू केवल मलाई मात्र थाहा छ ।
म देख्थें, मेरो अगाडि लम्पसार परेर सुतिरहेको जिन्दगीको लामो बाटो, जसमा तीखा काँडा, ठूलाठूला पत्थर अनि आगोका ज्वालाहरू छरपस्ट भएर छरिएका छन् । मैले मेरो जीवनको बाटोमाथि छरपस्ट ती काँडाहरूलाई पन्छाउनुपर्ने छ, पत्थरहरूलाई फुटाउनुपर्ने छ अनि आगोको ज्वालाहरूलाई नाघ्नु पर्नेछ । के म यसो गर्न सकुँला र ? आफैंसँग प्रश्न गर्थें । आफ्नै प्रश्नमा आफैंले उत्तर दिन्थें कि हुती हारेर मर्न पर्छ कि त हिम्मतका साथ अघि बढ्नुपर्छ । अतः मैले मृत्युलाई रोजिनँ, जीवनलाई नै रोजें । अनी जिन्दगीका हरेक समस्याहरूसँग जुध्दै क्रमशः अगाडि बढ्दै गएँ ।
‘एक्लै जीवन काट्न सकिन्छ’ भन्ने कठोर निर्णय लिएर विगत ६ वर्षदेखि एक्लै हिँडिरहेकी थिएँ म । मेरो यो एकल यात्राका बखतमा धेरै पटक लडेकी छु । अब उठ्नै सक्दिनँ कि भन्ने कमजोर भावले थिचेको त्यो बेलामा आफ्नो हात समातेर उठाइदिने कुनै सहाराको आशा हुँदो रहेछ । महिनैपिच्छे करिब हप्ता दिनको लागि बिरामीको अवस्थामा पुग्ने मेरो शरीरले एक गिलास पानीसँगै औषधिको ट्याब्लेट मुखमा हालिदिने एउटा सहयोगको चाह हुँदो रहेछ । मनभित्र गाँठो परेर बसेका अब्यक्त बहहरूलाई बोकेर हिँड्नु भनेको हजार टनको पत्थरलाई टाउकोमाथि बोकेर हिँड्नुभन्दा पनि कठिन रहेछ । तर मैले मेरा बहहरू व्यक्त गर्ने कोसँग ? मैले साथीसङ्गतीहरूको भीडमा आँखा डुलाएर हेरें तर मेरो पीडालाई महशूस गर्नसक्ने कोही देखिनँ । आफन्तहरूको घेरामा खोजेँ तर माइतीमा शरण लिएर बसेको म एकल नारीले आफ्नो पीडा पोखेर माइतीलाई थप तनाव दिनुहुन्न भन्ने मनन गरें । अतः मेरो हरेक दुःखमा म एक्लै रोएँ, पीडाहरूमा आफैं सम्हालिएँ अनि अनेकन समस्याहरूसँग एक्लै जुधिरहें ।
मेरो एकल जीवनलाई नियालिरहेका मेरा धेरै हितैसीहरूले एउटा जीवनसाथी खोज्नको लागि नसुझाएका पनि होइनन् तर एकपटक पुछिएको सिउँदोमाथि पुनः सिन्दूर भर्न आँट गर्ने कुनै निस्वार्थी हातहरू पाइन्छ र ? फुटेको चूरासँगै चकनाचुर भएको मेरो विगतलाई जोडेर एउटा सुन्दर आकार दिने स्वच्छ मनको धनी कोही भेटिन्छ र ? अनि विगतमा मैले गुमाएको मेरो चोखो मायालाई पुनः फर्काएर मेरो जीवनमा खुशीको रङ्ग भरिदिने कुनै दयालु मन पाइएला र ? लौ, भनेको जस्तो निस्वार्थी, स्वच्छ र निष्कपटी व्यक्ति पनि पाइयो रे, अनि के यो पुरुष प्रधान समाजले मेरो दोस्रो जीवनलाई स्वीकार गर्ला र ? म मेरा हितैसीहरूलाई प्रश्न गर्थें ।
आज, मैले मेरो एकल जीवनमा एउटा सहयात्री पाएकी छु । विगतको पीडालाई भुलाउने एउटा बहाना पाएकी छु । मेरो अतितलाई सहर्ष स्वीकार गरी मसँगै सुख र दुःख बाँड्न तयार एउटा साथी पाएकी छु । म, जीवनको दुःखद अध्यायलाई बन्द गरेर खुशीको अध्याय सुरु गर्ने निर्णयमा पुगेको छु । त्यसो भन्दैमा मैले मेरो अतीतलाई चटक्कै भुल्छु भनेको भने पक्कै होइन ।
अतीतका मीठा पलहरूलाई मनको कुनामा पोको पारी भविष्यलाई सजाउने नवीन यात्राको थालनी गर्ने यो निर्णय लिनु म एक्लैको लागि सहज र सम्भव छँदै थिएन । तर मेरा परिवारका सदस्यहरूको निरन्तर प्रयास अनि साथीसङ्गतीहरू, अग्रज र दिग्गज व्यक्तित्वहरूलगायत मेरा शुभचिन्तकहरूले प्रदान गर्नुभएको हौसला, साहस र प्रोत्साहनले आज म यो निर्णय लिनमा सफल भएकी छु । यति हुँदाहुँदै पनि मनमा एउटा प्रश्न भने अवश्य छः के यो पुरुषप्रधान समाजले मेरो यो निर्णयलाई स्वीकार गर्ला र ?
मलाई थाहा छ ‘श्वेताको आँखामा आँशु मात्रै देखिनु पर्छ’ भन्ने सोच बोकेका दुई–चारजना व्यक्तिहरूलाई मेरो यो निर्णयले पोल्नेछ । श्रीमती स्वर्गीय भएको १ महिना नबित्दै नयाँ दुलही भिर्त्याउन हतारिने तर घरकी विधूवी बहिनीले पूरै जीवन एक्लै काट्नुपर्छ भन्ने सोचले ग्रस्त केही व्यक्तिलाई मेरो यो निर्णयले चसक्क घोच्नेछ । तर मप्रति सहानुभूति राख्ने, मलाई सदैव खुशी देख्न चाहने अनि सधैँ मेरो सफलताको कामना गर्ने लाखौं शुभचिन्तकहरूको आशिर्वाद, सद्भाव र सुभेक्षाले मप्रति रिस र इर्ष्याको सोच राख्ने दुईचार जनाले स्वतः हार खानेछन् ।
अतः कोरोनाको सन्त्रासका बीच जुरेको खुशीको माहौलमा मैले मेरा धेरै मित्रहरू, गन्यमान्य व्यक्तित्वहरू, संचारकर्मीज्यूहरूलगायत मेरा आफन्तहरू समेतलाई सामेल गराउन असमर्थ हुनेछु । महामारीको यो माहौलमा सीमित व्यक्तिहरूलाई साक्षी राखी जीवनको नयाँ यात्रा सुरु गर्दैगर्दा तपाईंहरू सम्पूर्णले मलाई आशिर्वाद दिनुहुनेछ भन्ने आशा र विश्वास लिएकी छु ।
उहीँ तपाईंकी छोरी–चेली
श्वेता खड्का