नापी विभागको कार्यालयले सगरमाथाको उचाइ मंसिर २३ गते घोषणा गरिने
काठमान्डौ । सरकारले विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ घोषणा मंसिर २३ गते गर्ने भएको छ ।
नापी विभागको कार्यालय मीनभवनमा सगरमाथाको उचाइ घोषणा तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ ।विभागका उपमहानिर्देशक सुशील नरसिंह राजभण्डारीले मंसिर २३ गते दिउँसो साढे १ बजे आयोजना हुने उक्त कार्यक्रमका लागि पत्राचारसमेत गरेका छन् ।सन् २०१५ मा गएको विनाशकारी भूकम्पका कारण हिमाली भेगको उचाइमा असर परेको तथ्य नापी विभागको अध्ययनले देखाएको थियो । यही कारणले सगरमाथाको उचाइ पनि थपघट भएको हुनसक्ने अनुमानका आधारमा नेपालले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ मापन गरेको हो । यसमा नेपाल र चीनका सरकारी टोलीले संयुक्तरुपमा काम गरेका थिए ।
यसअघि विभिन्न देशहरुले सगरमाथाको उचाइ मापन गर्दै आएका थिए । पछिल्लो पटक सर्वे अफ इण्डियाले सन् १९५४ मा मापन गरी उचाइ कायम गरिएको विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८८४८ कायम रही आएकोमा थोरै फेरबदल आएको स्रोतले बतायो ।सगरमाथाको उचाइ मापन कार्य आर्थिक वर्ष ०७५र०७६ मा शुरु भएको थियो ।
यसै वर्ष उचाइ मापन कार्य सम्पन्न भएपछि अब चिनियाँ रक्षामन्त्री नेपाल भ्रमणको बेला पारेर मंसिर १० गते बुधबार बसेको मन्त्रिपरिषद बैठकले उचाइ सार्वजनिक गर्न स्वीकृति प्रदान गरेको थियो ।