सय वर्ष पार गर्दा पनि छत्रमायाले पाइनन् नागरिकता, भन्छिन् : राज्यले मेरो वास्ता गरेन
सिन्धुली, २२ मंसिर । कमलामाई नगरपालिका–१३ रुचानी निवासी छत्रमाया मगर उमेरले १०० पार गरी सक्नुभयो तर पनि उनीसँग अहिलेसम्म पनि नागरिकता छैन । नागरिकता नहुँदा राज्यले दिने सेवा सुविधाबाट समेत उनी वञ्चित छिन् ।
श्रीमानको पनि निधन भएपछि पछिल्लो पाँच वर्षदेखि एक्लो बनेकी छत्रमायालाई नातामा नाति पर्ने पदमबहादुर रानामगरले बनिबुतो गरेर संरक्षण गर्दै आएका छन् ।
“यो आश्रय लिएको नातिको पनि आर्थिक अवस्था कमजोर छ, मलाई राज्यले हेरेन । वृद्धभत्ता मात्र लिन पाए पनि बनिबुतो गरेर मलाई पाल्ने नातिलाई सहज हुनेथियो,” उनले भनिन्, “आर्थिक अवस्था कमजोर भए पनि ज्याला मजदूरी गरेर उनीहरूले सकेको सहयोग गर्दै आएका छन् । सरकारले बूढेसकाल लागेपछि हेर्छ पालनपोषण गर्छ भन्ने सुनेको थिएँ तर मलाई वास्ता गरेनन् । नागरिकता बनाइदिए हुनेथियो मर्ने बेला भयो तर नागरिकता कस्तो हुन्छ थाहा छैन ।”
माइती पक्षका कोही पनि नहुँदा नागरिकता लिनबाट वञ्चित छत्रमाया यतिबेला राज्यले प्रदान गर्ने सेवा सुविधाबाट पनि वञ्चित हुँदै आएको स्थानीय एकराज पहाडीले बताए ।
कमलामाई नगर प्रमुख खड्गबहादुर खत्रीले आफूले दशैँमा १०० वर्ष पार गरेको ज्येष्ठ नागरिकलाई सम्मान गर्ने क्रममा उनले नागरिकता नपाएको थाहा पाएको बताए ।