नेपालमा श्रीमानको मृत्यु भएपछि विदेशमा श्रीमतीले गरिन् आत्महत्या !
दोलखा, २३ मंसिर । नेपालमा श्रीमानको मृत्युको खबर पाएपछि विदेश रहेकी श्रीमतीले आत्महत्या गरेकी छन् । नेपालमा आफ्नो श्रीमानको दुर्घटनामा परेर मृत्यु भएको खबर थाहा पाएलगत्तै साइप्रसमा एक युवतीले आत्महत्या गरेकी हुन् ।
आइतबार दोलखाको विगु गाउँपालिका-५ लाईसेफमा बोलेरो दुर्घटनामा परेर चालक दोलखाकै गौरीशङ्कर गाउँपालिका-८ खारेका २४ वर्षीय सुबिन तामाङको मृत्यु भएको थियो । श्रीमानको मृत्यु भएको खबर पाएलगतै साईप्रसको लार्नाकामा घरेलु कामदारको रुपमा रहेकी २३ वर्षीय सुक्रि तामाङले नेपाली समयअनुसार आइतबार रातिनै आत्महत्या गरेको नेपाली कन्सुलेट निकोसियाले जानकारी दिएको छ ।
सुक्रिले टिकटमा श्रीमानको फोटो र ससुरासँग कुरा गरेको आवाज राखेर आमा, बुबा र सासू ससुरासँग क्षमा माग्दै आफु पनि आफ्नो मुटुसँगै जान लागेको लेखेकी थिईन् ।
दोलखाकै विगु गाउँपालिकाको लादुक माइत भएकी सुक्रि तमाङले तीन बर्ष अघि सुबिनसँग विवाह गरेकी थिइन् । उनी एक बर्ष अघि घरेलु कामदारको रुपमा साईप्रस पुगेको उनको आफन्तले बताएका छन् । श्रीमानको मृत्यु भएको खबर पछि सुक्रिले घरमा सासू, ससुरा लगायत आफन्तसँग फोन गरेर आफुपनि सुबिनसंगै जाने भन्दै पीडा पोखेकी थिइन् ।
आइतबार दोलखा विगु गाउँपालिकाको ठाक्रेबोटबाट सिंगटी आउँदै गरेको बा २० च ४३७३ नम्बरको बोलेरो लाईसेफको जङ्गलमा सडकबाट झण्डै एक सय ५० मिटर तल खसेर दुर्घटना हुँदा सुबिन तमाङको मृत्यु भएको थियो ।