विश्व बैंक र एडिबीबाट १४ अर्ब १५ करोड ऋण लिने सरकारको निर्णय
काठमाडौं, २४ मंसिर । सरकारले विश्व बैङ्क र एसियाली विकास बैङ्ककबाट १४ अर्ब १५ करोड ऋण लिने निर्णय गरेको छ । न्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले विश्व बैङ्क र एडिबीबाट १४ अर्ब १५ करोड ऋण लिने बताए ।
प्राथमिकता प्राप्त नदी बेसिन बाढी जोखिम व्यवस्थापन आयोजनाका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने ४० मिलियन अमेरिकी डलर अर्थात् करिब ४ अर्ब ७७ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण र अमेरिकी डलर १० मिलियन अर्थात करिब १ अर्ब १९ करोड रुपैयाँ बराबरको अनुदान सहयोग स्वीकार गर्ने निर्णय भएको उनले बताए ।
यस्तै ग्रामीण उद्यम तथा आर्धिक विकास आयोजना सञ्चालन गर्न विश्व बैंकबाट प्राप्त हुने अमेरिकी डलर ८० मिलियन करिब ९ अर्ब ३८ करोड रुपैयाँ सुहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
यसैगरी सरकारले बंगलादेशसँग जीटुजी माध्यमबाट ५० हजार मेट्रिक टन युरिया मल खरिद गर्ने निर्णय गरेको छ । गुरूङले बंगलादेशबाट मल खरिदका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय भएको जानकारी दिए । यसअघि सरकारले मल खरिद गर्ने निर्णय गरेको थियो ।