‘राजतन्त्र फर्किन्छ भनेर कल्पना गर्नु बेकार’
धनकुटा, २५ मंसिर । जनता समाजवादी पार्टीका केन्द्रीय नेता एवं विदेश विभाग प्रमुख रकम चेम्जोङ्गले राजतन्त्र फर्किन्छ भनेर कल्पना गर्नु बेकार भएको बताएका छन् ।
जनता समाजवादी पार्टी जिल्ला कार्य समिति, धनकुटाले बुधवार धनकुटामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता चेम्जोङ्गले मुलुकको राजनीति निराशाजनक अवस्थामा गुज्रिरहेको बेला देशी विदेशी शक्तिहरूको चलखेलमा राजावादीहरू सल्वलाए पनि राजतन्त्र फर्किएर आउँछ भनेर कल्पना गर्नु बेकार हुने दाबी गरे ।
पूर्व शान्तिमन्त्रीसमेत रहेका चेम्जोङ्गले केही दिनअघि मोरङको मिक्लाजुङ्गमा भएको शिक्षक हत्याको घटनाको विषयमा पत्रकारहरूले उठाएको जिज्ञासामा कोही कसैले व्यक्ति हत्यामा उत्रिनु राम्रो नभएको बताए ।
घटनाको विप्लव नेतृत्वले जिम्मा लिए पनि यसरी व्यक्ति हत्या गरेर राजनीतिमा कहिले पनि सफलता नपाइने भन्दै शान्तिपूर्ण बाटोमा आउन उनले आग्रह गरे ।