काठमाडौंका मुख्य-मुख्य सडकमा आधुनिक सडक बत्ती जडान हुने
काठमाडौं । काठमाडौं क्षेत्रभित्रका मुख्य मुख्य सडकमा आधुनिक सडक बत्ती जडान हुने सम्बन्धी सहमतिपत्रमा काठमाडौं महानगरपालिका, नेपाल विद्युत प्राधिकरण र सडक विभागबीच हस्ताक्षर भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्ग र काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यको उपस्थितिमा आज मन्त्रालयमा सो सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
सहमतिपत्रमा काठमाडौं महानगरपालिका, क्षेत्रभित्रका मुख्य मुख्य सडकहरुमा जडान गरिने आधुनिक सडक बत्तीहरुमा काठमाडौं महानगरपालिका र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा गर्ने र लगानीको अनुपात काठमाडौं महानगरपालिकाको ६० प्रतिशत र नेपाल विद्युत प्राधिकरणको ४० प्रतिशत रहने उल्लेख छ
सहमति अनुसार पहिलो चरणमा अन्तर्राष्ट्रिय विमानस्थलदेखि नयाँ बानेश्वर, त्रिपुरेश्वर, कालीमाटी, कलंकीलगायतका क्षेत्रमा करीब १७ करोडको लगानीमा २ हजार आधुनिक बत्ती जडानको कार्य अघि बढ्ने भएको हो ।
सडक बत्ती जडान, सञ्चालन लगायतका विषयमा समन्वय, अनुगमन तथा रिपोर्टिङ गर्न तीनवटै कार्यालयका प्रतिनिधि सम्मिलित हालको संयन्त्रलाई निरन्तरता दिने, सोही संयन्त्रले सडक बत्तीहरुको संम्भाव्य विस्तार स्थलहरुको पहिचान, अध्ययन गरी ४५ दिन भित्र प्रतिवेदन पेश गर्ने, नयाँ सडक बत्तीहरुको जडान पश्चात जगेडा हुने सोलार प्यानल लगायत सामानहरुको जगेर्ना गर्दै पुर्नप्रयोगको व्यवस्था गर्र्ने लगायतका कुरा पनि सहमतिपत्रमा उल्लेख गरिएको छ ।
सहमतिपत्रमा काठमाडौं महानगरपालिकाका तर्फबाट प्रमु्ख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, नेपाल विद्यूत प्राधिकरणका तर्फबाट कामु कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य र सडक विभागको तर्फबाट महानिर्देशक केशवकुमार शर्माले हस्ताक्षर गरेका छन् ।
सहमतिपत्रमा हस्ताक्षर गर्दै मन्त्री नेम्बाङ्गले संघीय राजधानी समेत रहेको काठमाडौं महानगर क्षेत्रलाई व्यवस्थित र उज्यालो महानगर बनाउने र उज्यालो संघीय राजधानीको चिनारी दिने अभियान अन्तर्गत यो योजना अघि बढेको बताए । ‘संघीय राजधानी समेत रहेको काठमाडौं महानगरलाई व्यवस्थित ढंगले उज्यालो महानगर बनाउने अभियानलाई मूर्तरुप प्रदान गर्न काठमाडौं महानगरपालिका, नेपाल विद्युत प्राधिकरण र सडक विभागबीच आज हस्ताक्षर भएको छ,’ मन्त्री नेम्बाङले भने, ‘आर्थिक वर्ष भित्रै सम्पन्न गर्ने गरी यो परियोजना सफल बनाउने गरी लाग्नुहोला ।’
काठमाडौं महानगरपालिकाका प्रमुख शाक्यले धेरै पटकको प्रयासपछि सहमतिपत्रमा हस्ताक्षर गर्ने चरणसम्म आइपुगेको भन्दै अब जतिसक्दो छिटो काम सम्पन्न गर्नेतर्फ केन्द्रित हुन आग्रह गरे । ‘यातायात व्यवस्थापन तथा शान्ति सुरक्षा कायम गर्न तथा सामाजिक सुरक्षा लगायतका सेवा सुविधाहरुलाई चुस्त दुरुस्त राख्न सडक बत्ती व्यवस्थापन गर्न अपरिहार्य छ,’ उनले भने, ‘सहरी सौन्दर्य अभिवृद्धि गर्न काठमाडौं महानगरपालिका क्षेत्रभित्रका मुख्य मुख्य सडकहरुमा आधुनिक सडक बत्ति जडान गर्न उपलब्ध श्रोत साधन तथा प्रविधिको अधिकतम प्रयोग गरी बत्ती जडान कार्य शिघ्र शुरु गर्ने र आवश्यकता अनुसार निरन्तर विस्तार गर्दै आपसी समन्वय, सहकार्य र एकरुपता कायम गर्न काठमाडौं महानगरपालिका तयार छ ।’
मन्त्री नेम्बाङ्गले मन्त्रालय धुलोरहित, हिलोरहित काठमाडौं बनाउने अभियानमा यस अघिदेखि नै सक्रिय रहेको भन्दै काठमाडौं महानगरपालिकाको पहलमा उज्यालो काठमाडौं महानगर बनाउने अभियानलाई सफल बनाउन सबैले हातेमालो गर्न आवश्यक रहेको पनि बताए।
त्यसैगरी चालु आर्थिक वर्षमा नेपाल विद्युत प्राधिकरणको ४० प्रतिशत लगानीको लागी आवश्यक रकम काठमाडौं महानगरपालिकाले उपलव्ध गराउने र उक्त रकम आगामी कार्यक्रममा नेपाल विद्युत प्राधिकरणले गर्ने लगानीमा समायोजन गर्ने पनि सहमतिमा उल्लेख गरिएको छ । ‘यस कार्यका लागि लागत अनुमान तयार गर्ने, प्रविधिको छनौट गर्ने, खरिद कार्य गर्ने तथा निर्माण कार्यको सुपरिवेक्षण गर्ने लगायतका कार्य नेपाल विद्युत प्राधिकरणले गर्ने । यस आयोजनाको निर्माण कार्य पश्चात मर्मत गर्नुपर्ने सडक, फुटपाथ लगायतको मर्मत कार्य सडक विभागले गर्ने,’ सहमतिपत्रमा भनिएको छ,’ ।