कांग्रेसको महाधिवेशनको मिति सार्ने तयारी
काठमाडौं । नेपाली कांग्रेसले कोभिड–१९ सङ्क्रमणका कारण प्रभावित पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिकाको मिति संशोधन गर्ने तयारी गरेको छ ।
कांग्रेसले गएको असार २२ गते केन्द्रीय महाधिवेशन आउँदो फागुन ७ देखि १० गतेसम्म गर्ने गरी कार्यतालिका निर्धारण गरेको थियो । कोभिड–१९ कारण कार्यतालिका अनुसारको क्रियाशिल सदस्यता र पार्टीको अन्तरिम संरचना समायोजन तालिका प्रभावित भइसकेको छ । पार्टीको क्रियाशील सदस्यता वितरण र नवीकरण कार्य निर्धारित समयमै सम्पन्न नभएपछि अन्य अधिवेशन पनि प्रभावित हुने निश्चित छ ।
यही कारण यही मङ्सिर अन्तिममा हुने केन्द्रीय कार्यसमिति बैठकबाट महाधिवेशन कार्यतालिका संशोधन गरिने पार्टी कार्यालयले जनाएको छ । कांग्रेसको विधानअनुसार आउँदो फागुन २० गतेसम्म १४ औँ महाधिवेशन उद्घाटन गरिसक्नुपर्छ ।
कांग्रेसको विधानमा पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरूको पदावधि चार वर्षको हुने र असाधारणस्थिति भएमा केन्द्रीय कार्यसमितिले त्यसको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउनसक्ने उल्लेख छ ।