७० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी
काठमाण्डौ । ललितपुरको एकान्तकुनामा रहेको यातायात व्यवस्था कार्यालयले झण्डै ७० हजार अनुमतिपत्र वितरण गर्न बाँकी रहेको जनाएको छ । पछिल्लो १ वर्षमा विगतका वर्षदेखि बाँकी रहेको सबै अनुमतिपत्र छापिसकेर पठाएको कार्यालयले जनाएको छ ।
कार्यालयमा दुइतिन महिना पहिले छापिएकादेखि दुईतीन वर्ष पहिले छापिएर आएको अनुमतिपत्र समेत लिन सेवाग्राही आउन बाँकी रहेको यातायात कार्यालयले जनाएको छ ।
विभागले गएको वर्ष ठूलो क्षमताको छपाइयन्त्र (मास प्रिन्टर) खरिद गरेर सञ्चालनमा ल्याएसँगै यहाँका छाप्न बाँकी धेरै अनुमतिपत्र छापिएर आएको थियो ।
गएको वर्ष चैतमा लकडाउन भएसँगै बन्द कार्यालय असारमा खुलेपछि कार्यालयमा सेवाग्राहीको धेरै चाप रहेको थियो ।
कार्यालयले नवीकरणका लागि आएका सेवाग्राहीको झण्डै १५ हजार अनुमतिपत्र मात्रै विभागबाट छापिएर आउन बाँकी छ । कार्यालयले नयाँ चालक अनुमतिपत्र नखुलाएर अनुमतिपत्र नवीकरण र वितरणको काम गरिरहेको छ । विभागले अनुमतिपत्रका लागि आवेदन लिइने भने पनि अझैसम्म वाग्मती प्रदेश सरकारले नयाँ अनुमतिपत्र खुलाउने निर्णय गरेको छैन ।
अनुमतिपत्र नवीकरणका लागि दैनिक तीनचार सय सेवाग्राही आइरहेका छन् । यो सङ्ख्या पछिल्लो एक डेढ महिनाको मात्रै भएको उहाँले बताउनुभयो । विभागले कार्यालयले पठाएको अनुमतिपत्र झण्डै दुई महिनामा छापेर पठाइरहेको छ ।