ब्रेक फेल भएको ट्रकले नैकापमा छ सवारीसाधनलाई दियो ठक्कर, एकको मृत्यु
काठमाडौं- काठमाडौंको चन्द्रागिरी नगपालिका नैकापमा सवारी दुर्घटना भएको छ । दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृतकलाई पोष्ट मार्टमका लागि शिक्षण अस्पताल महाराजगंज लगिएको प्रहरी प्रवक्ताले जानकारी दिनुभएको छ ।
थानकोट प्रहरीका अनुसार काठमाडौं बाहिरबाट आएको एउटा ट्रक अनियन्त्रित भई अरु सवारी साधनलाई ठक्कर दिँदा सो दुर्घटना भएको हो । दुर्घटनाको विस्तृत विवरण आइसकेको छैन ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार हेटौंडाबाट सिमेन्ट बोकेर सुकेधारा आइरहेको प्रदेश-२ ०३-००१ ख १४२० नम्बरको ट्रकले ढुंगेअड्डानजिक अन्य सवारीहरूलाई ठक्कर दिएको हो ।
सो ट्रकले एउटा ट्याक्सी, एउटा पिकअप, एउटा बस, एउटा मोटरसाइकल, एउटा स्कुटर र एउटा साइकललाई ठक्कर दिएको हो। ब्रेक फेल भएका कारण अनियन्त्रित भएर ट्रकले अन्य सवारीलाई ठक्कर दिएको हो । साइकललाई ठक्कर दिएर ट्रकले बिजुलीको पोलमा समेत ठक्कर दिएको थियो।
सो ट्रकले च्यापेर ओखलढुंगा घर भई ढुंगेअड्डा नैकाप बस्ने ३० वर्षीय एकको घटनास्थलमै मृत्यु भएको परिसर प्रमुख एसएसपी अशोक सिंहले बताए ।
त्यहाँ घाइते भएकाहरुको उद्दार र उपचारमा यतिखेर प्रहरी र स्थानीय जुटेका छन । घाइते ट्रक चालकलाई बयोधा अस्पताल र बाँकी घाइतेहरुलाई कलंकीस्थित शहिद मेमोरियल अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनाका कारण कलंकी-नैकाप सडक क्षेत्रमा अहिले सवारी जाम भएको प्रहरीले जनाएको छ ।