नेकपा स्थायी कमिटी बैठक बस्दै, ओली पनि सहभागी हुने
काठमाडौं, २८ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज १ बजे बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा आजदेखि स्थायी कमिटीका सदस्यहरुले आफ्नो धारणा राख्नेक्रम शुरु हुने बताइएको छ ।
गत आइतबार बसेको स्थायी कमिटी बैठक एक सातापछि आज पुनः आइतबार दिउँसो बस्न लागेको हो । यसअघिको बैठक पार्टी मुख्यालय धुम्बाराहीमा बसेपनि आजको बैठक बालुवाटार बस्ने तय भएको स्थायी कमिटीका सदस्यहरुले बताएका छन् ।
बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागीता हुने बताइएको छ । यसअघिको बैठकमा उनी अनुपस्थित रहेका थिए ।
दुई अध्यक्ष ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्ताव अध्ययनका लागि वितरण गरिए पनि बैठकको एजेण्डा भने ‘पार्टीको आन्तरिक समस्या’ तय गरिएको छ । स्थायी कमिटीमा ४५ जना सदस्य छन् ।
यसअघि २४ गते बुधबार अध्यक्षद्वयबीच बालुवाटारमा एक्लाएक्लै वार्ताभएको थियो । वार्तामा आन्तरिक समस्या समाधानका लागि केन्द्रित भएर छलफल भएपनि सहमति बन्न सकेको छैन ।