अमेरिकामा कोरोनाविरुद्धको खोप अभियान शुरु
काठमाडौं- संयुक्त राज्य अमेरिकाका सर्वसाधारणले पनि भोलिदेखि कोरोना भाइरस विरुद्धको खोप लगाउन शुरु गर्ने भएका छन् ।
अमेरिकाको खाद्य तथा औषधि व्यवस्था विभाग FDA ले आपतकालिन प्रयोगका लागि अनुमति दिए लगत्तै खोप अभियान शुरु गर्न लागिएको हो ।
अमेरिकी कम्पनी फाइजर र उसको जर्मन साझेदार वायोएनटेकले निर्माण गरेको खोप नै अमेरिकामा पहिलोपटक लगाउन लागिएको हो ।
पहिलो चरणको खोप कार्यक्रमका लागि ३० लाख डोज खोप सबै राज्यहरुमा यसै हप्ताभित्र पठाइसक्ने जनाइएको छ । अन्य देशमा जस्तै अमेरिकामा पनि स्वास्थ्यकर्मी र ज्येष्ठ नागरिकहरुबाट नै खोप अभियान शुरु गरिने भएको छ ।
खोपले कोरोना विरुद्ध ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने निर्माता कम्पनीको दाबी छ । कोरोना संक्रमणका कारण अमेरिकामा हालसम्म ३ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने १ करोड ६५ लाखभन्दा बढी संक्रमित भइसकेका छन् ।