अझै २ महिना नयाँ सवारी चालक अनुमतिपत्र नखुल्ने
काठमाण्डौ ।अझै दुई महिना नयाँ सवारी चालक अनुमतिपत्र नखुल्ने भएको छ। कोभिड १९ का कारण झण्डै नौ महिनादेखि बन्द रहेको सेवा तत्काल खुलाउँदा धेरै सेवाग्राहीको भीड लाग्ने र सङ्क्रमण फैलनसक्ने भनी तत्काल नखुलाउने गरी छलफल अघि बढेको हो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको यातायात व्यवस्था विभागले प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयसँगको छलफलमा तत्काल खुलाउन नहुने भनी अझै केही महिना रोक्ने गरी योजना बनाइएको विभागका प्रवक्ता डा लोकनाथ भुसालले बताउनु भएको छ। भुषालका अनुसार पुस र माघ महिनाभर अनुमतिपत्र खुला नगर्ने योजना बनाइएको र त्यसपछिको अवस्था हेरेर निर्णय गरिने छ ।
विगतमा वर्षमा सेवाग्राहीले अनुमतिपत्र लामो समयसम्म नपाउने गरेकामा यो वर्ष भने विभागले पुरानो बाँकी अनुमतिपत्र छापिसकेको छ। विभागले ‘मास प्रिन्टर’ बाट झण्डै आठ लाख अनुमतिपत्र छपाइ गरेको थियो। पहिले सेवाग्राहीले लामो समय बित्दा पनि अनुमतिपत्र पाएका थिएनन् भने अहिले धेरैले चाहेर पनि अनुमतिपत्रका लागि परीक्षा दिन पाएका छैनन्। सवारी तालिम केन्द्रले भने अनुमतिपत्र चाँडै खुल्ने भन्दै प्रशिक्षण दिइरहेका छन्।