ललिता निवास जग्गा प्रकरण : दीप बस्न्यात पुर्पक्षका लागि थुनामा
काठमाडौं/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई थुनामा पठाउन विशेष अदालतले आदेश दिएको छ । बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको घटनामा विशेष अदालतले बस्न्यातलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
आइतबार विशेष अदालत उपस्थित गराएर ४ घण्टा बयान लिएपछि पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिइएको विशेष अदालतका उपरजिस्ट्रार पुष्पराज पाण्डेयले जानकारी दिए ।
उनका अनुसार न्यायाधीशहरू प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले उनलाई थुनामा पठाउने आदेश जारी गरेको हो । उनलाई आइतबार नै डिल्लीबजार कारागार पठाइएको प्रहरीले जानकारी दिएको छ ।
बस्न्यात अख्तियारको आयुक्त हुनुअघि भूमिसुधार मन्त्रालयको सचिव भएका बेला बालुवाटार जग्गा प्रकरणमा मुछिएका थिए । उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ करोड ६५ लाख रुपैयाँ विगो माग गरी भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।