माछा मार्ने क्रममा विवाद, एकको मृत्यु, चार घाइते
काठमाडौं । सप्तरीमा माछा मार्ने क्रममा भएको विवाद बढेर झडप हुँदा एक महिलाको मृत्यु भएको छ ।
झडपमा परी सप्तरीको बोदे बर्साइन नगरपालिका–३ की ३५ वर्षीया गंगियादेवी मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका निमित्त कार्यालय प्रमुख डीएसपी भुवनेश्वर साहले जानकारी दिनुभयो । झडपमा चार जना घाइते भएकोमा एक जनाको अवस्था गम्भीर रहेको छ ।
साहका अनुसार सार्वजनिक पोखरीमा माछा मार्ने विषयमा आइतबार दिउँसो स्थानीयबीच विवाद भएको थियो । विवाद बढ्दै जाँदा गएराति झडप भएको हो । दुवै पक्ष बन्चरो, भाटालगायत सामग्री बोकेर झडपमा उत्रिएको डीएसपी साहले बताउनुभयो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभएको छ ।