विप्लव समूह हिंसात्मक बनेको सेनाको निष्कर्ष
काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह हिंसात्मक बाटोतर्फ अग्रसर भएको नेपाली सेनाले निष्कर्ष निकालेको छ । सुरक्षा संवेदनशीलता बढेको निष्कर्षसहित प्रधानसेनापति पूर्णचन्द्र थापाले देशका विकट स्थानमा रहेका गण, गुल्ममा पुगेर फौजसँग प्रत्यक्ष संवाद थाल्नुभएकाके छ ।
जंगीअड्डा स्रोतका अनुसार समूहले मोरङमा एक जना निहत्था नागरिकको हत्या गरेपछि निगरानी बढाउन प्रधानसेनापति थापाले सैनिकहरुलाई निर्देशन दिनुभएको छ । सेनाको कात्तिक पहिलो साता भएको पृतनापति सम्मेलनले पनि विप्लव समूहलाई राष्ट्रिय सुरक्षाको मुख्य चुनौतिका रुपमा विश्लेषण गर्दै गतिविधि बढाउनसक्ने भनेको थियो ।
सबै परिस्थितिहरुमा स्थानीय तथा प्रदेश सरकारसँगको समन्वयमा शान्ति सुरक्षा कायम राख्ने कार्यमा नेपालको संविधान एवं प्रचलित ऐन, नियम अनुसार सबै प्रकारको सहयोग गर्न सक्ने गरी तयारी अवस्थामा रहन उहाँले आग्रह गर्नुभएको छ ।
स्रोतका अनुसार सम्बोधनका क्रममा थापाले असन्तुष्ट समूह आपराधिक क्रियाकलापमा संलग्न भएर समाजमा हिंसा र आतंक सिर्जना गर्दै जानसक्ने अवस्थाप्रति पनि सजग रहन आग्रह गर्नुभएको छ ।
साथै, उहाँले स्थानीय स्तरमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसमेतसँग समन्वय गरी शान्ति, सुरक्षा र स्थिरता कायम राख्न तयारी हालतमा रहन पनि निर्देशन दिनुभएको छ ।