भ्रष्टाचारी खोज्न टाढा जानुपर्दैन, बालुवाटार गए पुग्छ : गगन थापा
काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री गगन थापाले केपी शर्मा ओली सरकार इतिहासकै भ्रष्ट भएको बताएका छन् । कांग्रेसद्वारा धनगढीमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले निर्मला पन्तदेखि निर्जला चौधरीको बलात्कार र हत्यामा संरक्षण गर्ने गृहमन्त्री, बालुवाटारको जग्गा हडप्ने अर्थमन्त्री र स्वास्थ्य सामग्री खरिदमा कमिसन खाने स्वास्थ्यमन्त्री नै प्रधानमन्त्रीका प्रिय रहेको बताए ।
नेपाल सरकार संलग्न भएर भएको एउटा पनि भ्रष्टाचारको काण्ड प्रधानमन्त्रीको संरक्षणविना नभएको भन्दै काङ्ग्रेस नेता थापाले भ्रष्टाचारी खोज्न बालुवाटार गए पुग्ने बताए ।
यसैगरी उनले संसद्बाट भागेको सरकारलाई ठेगान लगाउन नेपाली काङ्ग्रेस सडकमा उत्रिएको बताएका छन् । सरकारलाई ठेगानमा नलगाएसम्म नेपाली काङ्ग्रेस घर फिर्ता नहुनेसमेत उनले बताए ।
सरकारले हावादारी गफ दिँदै समय बिताएको आरोप लगाउँदै जनताको पक्षमा कुनै काम गर्न नसकेकोले काङ्ग्रेसले खबरदारी गरिहरेको उनले बताए ।