चितवनमा सरकारविरुद्ध कांग्रेसको शक्ति प्रदर्शन (फोटो फिचर)
चितवन, २९ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले आज (सोमबार) देशभर सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शनका लागि काङ्ग्रेस कार्यकर्ताले देशैभर र्याली निकालेका थिए ।
सरकार भ्रष्ट्राचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै काङ्ग्रेसले देशव्यापी विरोध प्रदर्शन आयोजना गरेको हो । काङ्ग्रेसका शीर्ष नेताहरू विरोध प्रदर्शनका लागि देशका विभिन्न जिल्लामा पुगेका थिए । यस्तैमा केन्द्रीय सदस्य डा. रामशरण महतले चितवनबाट सम्बोधन गरेका थिए ।

महतले महाधिवेशन गराएर कांग्रेसलाई जनताको विश्वासिलो पार्टी बनाउनुपर्ने बताए । उनले पार्टी नेतृत्वलाई सच्याएर जनताको लायक पार्टी बनाउनुपर्नेमा जोड दिए ।
“निष्पक्ष ढङ्गले महाधिवेशन गरेर जनताको विश्वास जित्ने पार्टीका रुपमा कांग्रेसलाई ल्याउन आवश्यक छ,” उनले भने । कांग्रेस लोकतान्त्रिक, आर्थिक नीति ल्याउन सक्ने र विकासप्रेमी पार्टी भएको उनको भनाइ थियो ।

सरकारले संविधान कार्यान्वयनमा ल्याउन नसकेको आरोप लगाउँदै उनले अहिलेसम्म संविधान कार्यान्वयनका लागि खासै काम हुन नसकेको बताए । उनले भने, “जनताको अधिकारका लागि सङ्घीयतामा तीन तहको सरकार बनाइएको हो तर सबै अधिकार केन्द्रमा नै सीमित गर्न खोजिँदै छ ।”

कार्यक्रममा कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, उपसभापति कैलाश कोइराला, सचिव उत्तम जोशीलगायतले बोलेका थिए । अपराह्न १२ः३० बजे भरतपुरको चौबीसकोठीबाट शुरु भएको र्याली पुल्चोक पुगेर विरोधसभामा परिणत भएको थियो ।



